
चोखो माया दिउँला भनी मुटु मेरो छुन्छ्यौ किन?
यत्तिका यी मान्छेबाट मलाई मात्रै चुन्छ्यौ किन?
तिम्रै लागि जन्मिएकी संसारम म त भन्थ्यौ
तर आजभोलि तिमी अर्कै सँग हुन्छ्यौ किन?
उसैसँग घरजम गरी मस्तसँग बसे भैगो
मैले गजल बाचन गर्दा बसी बसी सुन्छ्यौ किन?
'बेदागी छु म त बरु चन्द्रमा छ दागी' भन्थ्यौ
भा'को दाग मेट्न फेरी गाला मात्र धुन्छ्यौ किन?
जति धोए पनि जान्नन् टोकाइका दागहरू
गाला टोक्यो उस्ले भनी मेरो सामु रुन्छ्यौ किन?
भन्ने गर्थ्यौ, 'तिमीबिना एक्लै मर्छु म त अब'
एक्लै भा'को भए कोठा भित्रबाट थुन्छ्यौ किन?
सबलाई धोका दिई हिड्छ्यौ मरे पनि भैगो नि त
मलाई आफ्नो देउता ठानी सपनाहरू बुन्छ्यौ किन?

No comments:
Post a Comment